राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिंदै शिक्षकहरू

काठमाडौं। नेपाल शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका क्रममा शिक्षकहरूले आज मंगलबारदेखि राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिइने भएको छ। संघीय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग अघि सारेर उनीहरु आन्दोलनरत छन्।

पहिलो दिन नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। फागुन २८ गते नेकपा (एमाले) का केन्द्रीय कार्यालय, चैत १ गते नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय, ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने भएको छ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग छ।

यसैगरी, बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत विषय शिक्षकहरूले अघि सारेका छन्।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दबाब दिने, चैत ७ गतेदेखि १५ गतेसम्म रिले अनशन र चैत २० गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन हुनेछ।

शिक्षक महासंघद्वारा दोस्रो चरण आन्दोलन घोषणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *