शिक्षक महासंघद्वारा दोस्रो चरण आन्दोलन घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भए पनि तिनलाई सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन नल्याइएपछि महासंघ असन्तुष्ट बन्दै आएको छ।

सरकार विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको ठहर महासंघको छ। स्थायी, राहत, साविक उच्चमावि, अस्थायी करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू ऐनबाट सम्बोधन हुनुपर्ने माग महासंघको छ।

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षडयन्त्र हुन थालेको देखिन्छ। यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासंघले फेरि आन्दोलन थालनी गरेको छ।’

महासंघको अगुवाइमा फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा भएको थियो। दोस्रो चरणमा सरकार, संसद् र सम्बन्धित सबै सरोकार पक्षलाई विगतका सहमतिहरू समेटिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न बाध्य तुल्याउन महासंघले जनाएको छ।

आन्दोलन अन्तर्गत २७ फागुनदेखि ५ चैतसम्म प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ। २० चैतदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *