के भन्छन् ‘नो केबलकार’ पक्षधर?

काठमाडौं। ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषय यतिबेला चर्चामा छ। सम्पदा, संस्कृति र पहिचानमा असर पर्छ भनेर यसको विरोध भइरहेको छ।

विरोधका क्रममा ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच पटक पटक झडप पनि भइसकेको छ। समस्या चर्किँदै जाने अवस्था भएपछि सरकारले वार्ता टोली बनाएको छ। आन्दोलनकारीका तर्फबाट पनि वार्ता समन्वय टोली बनेको छ।

यी दुई पक्षबीच केही पटक वार्ता पनि भइसकेको छ। प्रारम्भिक वार्ताका क्रममा केबलकार निर्माण तत्कालका लागि स्थगित गर्ने र आन्दोलनका कार्यक्रम पनि रोक्ने सहमति गरियो। सरकारले उति चासो नदिएको भन्दै असन्तुष्ट पक्षले फेरि आन्दोलन घोषणा गरेका छन्।

यसै सन्दर्भमा काठमाडौमा आयोजिक एक कार्यक्रमका सहभागीले पाथीभरामा केबलकार बनाउने, नबनाउने विषयमा आफ्ना धारणा राखेका छन्। के भन्छन् उनीहरु?

काठमाडौंमा पनि मुक्कुमलुङ पाथीभरा सम्पदा संरक्षण संघर्ष समिति गठन गरिएको छ। यसको संयोजकमा नेपाली सेनाका पूर्व उपरथी अनन्तबहादुर थेबे छन्। उनले पाथीभरा (मुक्कुमलुङ) किराँत, हिन्दू र बौद्धमार्गीहरुको साझा धार्मिकस्थल रहेको बताएका छन्।

उनको भनाइ छ, ‘अहिलेको द्वन्द्व भनेको पाथीभरामा केवलकार निर्माण गर्ने वा नगर्ने भन्ने विषयमा छ। खास मुद्दा पेचिलो र गहिरो छ। स्थानीय रैथाने आदिवासी जनजातिको संवेदना, परम्परादेखि सनातनदेखि मानिआएको आस्था र विश्वासको बीचमा केही लोभीपापी र स्वार्थहरुको द्रव्यपिशाचुको स्वार्थको द्वन्द्व हो। पवित्र स्थानलाई मौलिक रुपमा राख्नुपर्छ। सर्वसाधारण नागरिकलाई आवातजावातमा बाटोको पहुँच बनाउनुपर्छ। पाथीभरामा केवलकार लगेपछि पवित्रतामा आँच पुग्छ भन्ने हो।’

यसैगरी, स्थानीय सरोकारवाला सलमान थलाङले विकासको नाममा पाथीभराको सभ्यता मास्नेगरी सह्य हुनै नसक्ने कामको सुरुवात भएको भन्दै यथाशीघ्र परियोजना बन्द गर्न चेतावनी दिएका थिए।

उनले भने, ‘हामी चुप लागेर बस्दैनौं। पाथीभरामा केवलकार बन्न हुँदैन भन्ने ९९ प्रतिशतको धारणा छ। एक जना व्यापारीले र राज्यले दमन गरेर यदि केवलकार बनाइयो भने भोलि त्यहाँ द्वन्द्व निम्ति नसक्छ।’

किराँत याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम्बरबहादुर तुम्बाहाङ्फेले मुक्कुमलुङ मुन्धुमभित्र परेको उल्लेख गर्दै पाथीभरा सबैको धर्मस्थल भएको बताए। उनले भने, ‘मुक्कुमलुङ त लिम्बुको त शीर हो। त्यहाँ बदमासी हुनु हुँदैन।’

अधिवक्ता थइन्द्र आङबोहाङले पाथीभरामा स्थानीयको अधिकार रहने भन्दै स्थानीयको स्विकृतिबिना कुनै संरचना बनाउन र भत्काउन नमिल्ने टिप्पणी गरे। उनले भने, ‘संविधानको धारा २६ ले धार्मिक स्वतन्त्रता दिएको छ। केबलकार निर्माण कार्य खारेज हुनुपर्छ। धार्मिक सम्पदा बचाउनुपर्छ।’

गायिका झुमा लिम्बुले विकासको नाममा सभ्यता मास्ने कुरा स्विकार्य नहुने र मनपरी गर्न नपाउने बताइन्। उनले भनिन् ‘त्यो ठाउँ त हाम्रो पुस्ताले बचाएको हो। मनपरी गर्न मिल्दैन।’

यसैगरी, अधिवक्ता हरिचन्द्र भट्टराईले ताप्लेजुङमा अहिले राज्यले गरेको व्यवहार मानवअधिकारको हिसाबले गलत भएको टिप्पणी गरे। उनले भने, ‘राज्य त्यसै भाग्न पाउँदैन। पाथीभरा भनेको हाम्रो सभ्यता हो। धरोहर हो। यसमाथि कसैले धावा बोल्नु हुँदैन।’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले मुन्धुम आफूहरुको सभ्यता भएको र आफूहरु प्रकृतिपूजक भएको भन्दै पाथीभरामा केवलकार बनाउन नहुने धारणा राखिन्। उनले भनिन्, ‘हामी त प्रकृतिपूजक हौं। रुख, बोटबिरुवा हो पुज्छौं। मुक्कुमलुङ हाम्रो पवित्रस्थल हो। हामी केवलकार चाहँदैनौं।’

चलचित्र निर्देशक नवीन सुब्बाले ताप्लेजुङमा केवलकार बनाउननहुने धारणा राखे। उनले भने, ‘अहिले जे काम भैरहेको छ, हाम्रो शीर टेक्ने काम भैरहेको छ। विकासको नाममा हाम्रो आस्था प्रभावित भएको छ।’

वातावरण संरक्षणविद् बाबुकृष्ण कार्कीले जनतालाई दिएको सम्पत्तिमा राज्य जानु भनेको गलत भएको टिप्पणी गरे। सर्वोच्च अदालतले समेत निकुञ्ज, आरक्षण क्षेत्रमा सडक, केवलकार लैजान मिल्दैन भनेको कुरा उनले स्मरण गराए ।

अभियन्ता भवानी बरालले अहिले माफियाको काँधमा चढेर मान्छेले गलत काम गरिरहेको टिप्पणी गरे। उनले भने, ‘ती मान्छेले पैसाबाहेक केही देख्दैनन् । आस्था र विश्वासमाथि प्रहार गर्नु गलत हो।’

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *