‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन घोषणा

काठमाडौं। ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले आन्दोलनलाई निरन्तरता दिएको भएको छ। सरकारको सहसचिवस्तरीय वार्ता टोलीबाट समस्या समाधान नभएको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।

केबलकारको विरोध गर्दै आएका ‘मुक्कुमलुङ ताङ्सेःप चुम्भो’ का ११ संस्था र १० वटा राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि आन्दोलन पुनः थाल्ने जनाएका छन्।

माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्नेलगायत कार्यक्रम छ।

केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन्। त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने विज्ञप्तिमा उल्लेख छ।

सरकारसँग माघ २२ गते भएको ६ बुँदे सहमतिको इमान्दारीसाथ कार्यान्वयन नभएको आन्दोलनकारीको भनाइ छ। वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको भन्दै उनीहरुले सरकार निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको आरोप लगाएका छन्।

माघ २२ गते भएको वार्तामा हिजो माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो। त्यसबमोजिम आफूहरु मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै आन्दोलनकारीले अडान राखेका थिए। त्यसपछि वार्ता निष्कर्षविहीन बनेको थियो।

हिजै साँझसम्मको समय दिएर मन्त्री वा उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गर्न आग्रह गरे पनि सरकाले त्यसो नगरेको भन्दै थप आन्दोलन घोषणा गरिएको ‘नो केबलकार समूह’ पक्षधरले जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *