चक्कु प्रहारबाट झापाका दाजुभाइको मृत्यु
काठमाडौं । ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट घाइते भएका दुई युवाको मृत्यु भएको छ।
झापाको कमल गाउँपालिका-६ घर भइ झापा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सिर्जन नेम्बाङमाथि बुधबार चक्कु प्रहार भएको थियो।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका नेम्बाङ दाजुभाइलाई तत्काल उपचारका लागि बीएन्डबी अस्पताल लगिए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे।
प्रहरीले घटनाको मुख्य आरोपित सञ्जीव नेपालीलाई पक्राउ गरेको छ। ललितपुर प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार एउटा ुमिस कलु का कारण यो बिभत्स घटना भएको खुलेको छ। नेम्बाङ दाजुभाइको फोनबाट झुक्किएर आरोपित सञ्जीवको नम्बरमा फोन गएपछि उनीहरूबीच विवाद सुरु भएको थियो।
फोनमै भएको भनाभनपछि नेम्बाङ दाजुभाइ सञ्जीवलाई भेट्न पाटन पुगेका थिए। सोही क्रममा सञ्जीवले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ।
