आज जनआन्दोलन दिवसको सम्झना

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज बिहीबार विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ।

विसं २०४६ चैत २६ गते ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य भई प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी सुरु गरेको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो।

नेपाली कांग्रेसको नेतृत्वमा वाम मोर्चासहित भएको संयुक्त जनआन्दोलनले पञ्चायत ढालेपछि नेपालमा बहुदलीय शासन व्यवस्था पुनः स्थापना भएको हो।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको सो जनआन्दोलन ५० दिनसम्म चलेको थियो। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई आधार मानी २०४६ फागुन ७ गतेबाटै आन्दोलनको आँधीबेहरी सुरु भएको थियो।

जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले चैत २६ गते राति देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय व्यवस्था पुनः स्थापनाको घोषणा गरेका थिए।

त्यसैले नेपालको राजनीतिक इतिहासमा यो दिनलाई प्रजातन्त्र र स्वतन्त्रता प्रेमीहरूले गौरवमय दिनका रूपमा लिने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *