विद्यालय भवन बनाउँदा भ्रष्टाचार: इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौँ। बर्दियाको बारबर्दिया नगरपालिकामा विद्यालय भवन निर्माणको भुक्तानी दिने क्रममा भ्रष्टाचार गरेको अभियोगमा इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट घुस लिएको पुष्टि गर्दै मल्लमाथि मुद्दा चलाएको हो।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्लले वडा नं. ७ स्थित रम्भापुरमा निर्माण भएको चार कोठे विद्यालय भवनको बिल पास गरिदिए बापत डेढ लाख रुपैयाँ घुस मागेका थिए।

अख्तियारको बुटवल र नेपालगन्जबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। बालबालिका पढ्ने विद्यालय जस्तो पवित्र क्षेत्रको पूर्वाधार निर्माणमा समेत पदीय शक्तिको दुरुपयोग गरी आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार अनुसन्धानका क्रममा इन्जिनियर मल्लले बदनियतपूर्वक घुस लिएको पुष्टि भएको छ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो। अख्तियारले मल्ललाई बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *