अब बिदाका दिन पनि हुलाकबाट कुरियर सेवा

काठमाडौं। सार्वजनिक बिदाका दिन पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। हुलाक सेवा विभागले विभिन्न निकायहरूसँग समन्वय गरी हुलाकबाट हुने वस्तु आयात-निर्यातलाई थप सहज र प्रभावकारी बनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि यस्तो व्यवस्था गरिएको हो। विभागका अनुसार हुलाक कुरियरका लागि अब द्रुतमार्ग प्रयोग गरिनेछ। यस व्यवस्थाले विदेश पठाइने र विदेशबाट आउने मालवस्तुको जाँचपास प्रक्रियालाई छिटो, सुरक्षित र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीचको समन्वयमा यो नयाँ प्रणाली लागू गरिएको विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताए।

यसैगरी, अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि छुट्टै जाँचपास प्रणाली स्थापना गरिनेछ। यसअघि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार खुले पनि भन्सार र बैंक बन्द हुँदा सेवा प्रभावित हुँदै आएको थियो।

अन्तरनिकाय समन्वय अभावका कारण सेवाग्राहीबाट आएका गुनासोपछि मन्त्रालयले विशेष चासो दिएर यो सुधार प्रक्रिया अघि बढाएको हो। गत फागुन महिनामा मात्र गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट १९ हजार २ सयभन्दा बढी पार्सल र चिठ्ठीपत्रहरू विदेशबाट आएका थिए भने ११ हजार ७ सयको हाराहारीमा वस्तुहरू निर्यात भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *