शैक्षिक संस्था र सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय

काठमाडौँ। सरकारले इन्धन खपत कम गर्ने र पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई सम्बोधन गर्ने उद्देश्यले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

बिदा थपिएसँगै सरकारी कार्यालयको समय परिमार्जन गरी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ, तर शैक्षिक संस्थाको हकमा भने यो समय लागू हुने छैन।

बैठकले अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न विकास परियोजनाका लागि वैदेशिक ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन गरी जम्मा ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिन सरकार सहमत भएको छ।

यस्तै, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर ऋण पनि स्वीकार गर्ने निर्णय भएको छ।

प्रवक्ता पोखरेलका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सबै सरकारी निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिइएको छ। बैठकले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ।

वातावरण संरक्षणका लागि इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ। यसैगरी आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु हुने निश्चित भएको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने आगामी बैठकले निर्णय गर्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *