डीएसपीदेखि जवानसम्मका विभिन्न प्राविधिक पदमा जागिरको अवसर

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहमा रिक्त रहेका पदपूर्तिका लागि  दरखास्त आह्वान गरेको छ।

प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) देखि प्रहरी जवानसम्मका विभिन्न प्राविधिक पदमा नयाँ भर्ना खुला गरेको जानकारी दिएको हो।

जारी सूचना अनुसार इन्जिनियरिङ समूहतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेकट्रिकल, बिल्डिङ एन्ड आर्किटेक र अटोमोबाइल विधामा आवेदन माग गरिएको छ।

यसैगरी विधि विज्ञान अर्थात् फरेन्सिकतर्फ बायोलोजी र रसायन विधाका साथै स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका पदमा भर्ना प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

विभिन्न पदका लागि आवेदन दिने समय सीमा पनि फरक-फरक तोकिएको छ। जसअनुसार प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि इच्छुक उम्मेदवारले आगामी चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको समयभित्रै आवश्यक कागजातसहित आवेदन दिन सक्ने प्रहरीले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *