म राजनीतिज्ञ होइन, समाजसेवी हुँ : महावीर पुन
काठमाडौँ । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले शिक्षा क्षेत्रमा व्याप्त चरम राजनीतीकरण र विकृतिहरूलाई सुधार्न आफूले निरन्तर प्रयास गरेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चार महिना मन्त्रीका रूपमा काम गर्दा शिक्षा क्षेत्रमा अनेकौँ गम्भीर समस्या र विसङ्गतिहरू देखेको अनुभव सुनाए।
सांसद पुनले विद्यालय, कलेज र विश्वविद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण निर्माणका लागि आफूले ३ वटा विधेयकका मस्यौदा अध्यादेशमार्फत ल्याउन र ४ वटा नियमावली लागू गर्न पहल गरेको जानकारी दिए। तर, तत्कालीन सरकार कामचलाउ अवस्थामा रहेकाले ती प्रयासहरू सफल हुन नसकेको उनले गुनासो गरे।
“माघ ६ गते उम्मेदवारी दर्ता गर्नुभन्दा ४० घण्टा अघिसम्म पनि मैले ती अध्यादेश र नियमावली ल्याउन सक्दो कोसिस गरेँ, तर विधायन समितिबाट प्रक्रिया अगाडि बढ्न सकेन,” उनले भने। मन्त्रिपरिषद्ले अनुमोदन गरेर पठाएका प्रस्तावहरू समेत रोकिएकोमा उनले दुखेसो पोखे।
आफूलाई राजनीतिज्ञभन्दा बढी समाजसेवीका रूपमा चिनाउँदै पुनले संसद्मा आफ्नो भूमिका कुनै पक्ष वा विपक्षमा नभई पूर्ण रूपमा निष्पक्ष रहने स्पष्ट पारेका छन्। उनले आफू समाजसेवी नै रहिरहने र देशको हितका मुद्दामा केन्द्रित हुने बताए।
सम्बोधनका क्रममा पुनले आफू योजनाबद्ध रूपमा राजनीतिमा नआएको समेत खुलासा गरे। २०८२ भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ पछि युवाहरूको आग्रह र दबाबका कारण आफू यो क्षेत्रमा होमिनुपरेको उनले बताए।
“त्यतिबेला म ताप्लेजुङका गाउँ–गाउँमा पुगेर किताब बेचिरहेको थिएँ,” उनले स्मरण गर्दै भने, “तर जेनजी भाइबहिनीहरूले मलाई शिक्षा तथा विज्ञान मन्त्रीको जिम्मेवारीमा पुर्याइदिए।” उनले युवाहरूको भावना र शिक्षा क्षेत्रको सुधारका लागि आफ्नो प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरे।
