‘जनताको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै प्राप्त मतलाई ‘परिवर्तनको आदेश’ का रूपमा व्याख्या गरे।

संसद्‌मा बोल्दै लामिछानेले जनताले झन्डै दुई तिहाइको मताधिकारमार्फत परिवर्तनको पक्षमा स्पष्ट म्यान्डेट दिएको बताए। “जनतालाई म प्रतिज्ञा गर्छु कि यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौँ। यो मत समर्थनको मात्र होइन, आक्रोश र आशासहितको परिवर्तनको मत हो,” उनले भने, “हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन मात्र होइन, सिंहदरबारको कार्यशैली बदल्नका लागि हो र हामीले त्यो बदलाव सुरु गरिसकेका छौँ।”

उनले अबको समय भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बेला भएकोमा जोड दिए। “हामीले बोलेर मात्र पुग्दैन। म लगायत रास्वपाका हरेक माननीयले आफ्नो कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ। अब हाम्रा भाषण होइन, सरकारले गरेका कामहरू आफैँ बोल्नेछन्,” उनले दाबी गरे।

सरकारका लागि ‘हनिमुन पिरियड’ को सुविधा आवश्यक नरहेको उल्लेख गर्दै उनले समयको महत्वबारे चर्चा गरे। “हामीलाई हनिमुन पिरियडको सुविधा चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ र त्यो प्रक्रिया सुरु भइसकेको छ,” उनले भने।

लामिछानेले प्रतिपक्षी दलका सकारात्मक चुनावी प्रतिबद्धताहरूको समेत स्वामित्व लिन सरकार तयार रहेको स्पष्ट पारे। विगतका एकल बहुमतका सरकारहरू इतिहासको अङ्ग मात्र बनेको तर इतिहास बदल्ने औजार बन्न नसकेको टिप्पणी गर्दै उनले आफूहरू इतिहासबाट सिक्न तयार रहेको बताए। “जनताले दिएको यो विशाल बहुमतलाई ‘गुमेको अवसर’ का रूपमा इतिहासमा लेखिन दिने छैनौँ, त्यसो हुनु हाम्रा लागि कलङ्क हुनेछ,” उनले प्रतिबद्धता जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *