संसद्बाट संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले नेपालको अस्तित्व रक्षाका लागि यी दुई विषयमा गम्भीर विमर्श सुरु गर्न माग गरे।
सम्बोधनका क्रममा सांसद शाहीले नेपाल कुनै निश्चित राजनीतिक दल वा नेताले नभई राजसंस्था र जनताको साझा प्रयत्नबाट निर्माण भएको ऐतिहासिक तथ्य प्रस्तुत गरे। “यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले बनाएको होइन, यो राजसंस्था र नेपाली जनताले मिलेर बनाएको मुलुक हो,” उनले भने।
उनले धर्मनिरपेक्षताको खारेजी र ‘हिन्दु अधिराज्य’ को घोषणाका पक्षमा उभिन सबैलाई आग्रह गरे। देशमा ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत गरी ९३ प्रतिशतभन्दा बढी जनसङ्ख्या ‘ॐकार’ परिवारको रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले बहुसङ्ख्यक नागरिकको भावनाको सम्मान हुनुपर्नेमा जोड दिए।
सांसद शाहीले अमेरिकी सहयोग परियोजना एमसीसीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै यसलाई खारेज गर्नुपर्ने अडान राखे। नेपालले आफ्नो भूराजनीतिक सन्तुलन कायम राख्न पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीतिलाई पूर्ण रूपमा पालना गर्नुपर्ने र यसको कार्यान्वयनमा सरकार चुक्न नहुने उनको भनाइ थियो।
राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा नेपाली सेना खटाउन र संयुक्त राष्ट्रसंघमार्फत नेपालको अन्तर्राष्ट्रिय सिमाना यकिन गर्न समेत सरकारको ध्यानाकर्षण गराए।
देशको वर्तमान सामाजिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले ८० लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिन बाध्य भएको र देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा मात्र टिकेको यथार्थ चित्रण गरे।
साथै, उनले निर्मला पन्तदेखि इन्साफ बिकसम्मका चर्चित घटनाहरूमा वर्षौँ बितिसक्दा पनि पीडितले न्याय पाउन नसकेको भन्दै वर्तमान न्याय प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाए।
