ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गर्ने युवा संघ ललितपुरका अध्यक्ष पक्राउ

ललितपुर । ललितपुरमा एक ज्येष्ठ नागरिकलाई सडकपेटीमा अभद्र व्यवहार गरेको आरोपमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, ललितपुरका जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन् ।

चैत १५ गतेको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उत्पन्न जनआक्रोश र गृहमन्त्रीको ध्यानाकर्षणसँगै प्रहरीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

गोदावरी नगरपालिका-१०, टाखेल निवासी ३० वर्षीय बजगाईलाई चापागाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

उनलाई परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ । सार्वजनिक भएको भिडियोमा बजगाईले पाटन मानसिक अस्पताल अगाडि एक वृद्धलाई अपशब्द प्रयोग गर्दै धकेलेको र दुर्व्यवहार गरेको देखिन्छ । उक्त भिडियो बाहिरिएपछि सामाजिक सञ्जालमा एमाले कार्यकर्ता र घटनाको तीव्र आलोचना भएको थियो ।

घटनाको चौतर्फी विरोध भएपछि गृहमन्त्री सुदन गुरुङले पनि सामाजिक सञ्जालमार्फत कानुनभन्दा माथि कोही नभएको र सरकारले हरेक नागरिकको सुरक्षालाई नजिकबाट नियालिरहेको बताएका थिए ।

सीसीटीभी फुटेजका अनुसार, चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर फर्किने क्रममा बजगाईले ती ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *