विपद् व्यवस्थापन र सीमा सुरक्षामा गृहमन्त्रीको सक्रियता
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) राजु अर्यालसहितको टोलीबीच मन्त्रालयमा विशेष छलफल भएको छ ।
मंगलबार भएको उक्त भेटवार्तामा मुख्यगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीका विषयमा विस्तृत विमर्श भयो ।
सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीति, आवश्यक स्रोत साधनको व्यवस्थापन र विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफलले जोड दिएको छ ।
यसैगरी बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्तीलाई अझ कडा बनाउने निर्णय गरेको छ । सीमा नाकाबाट हुने तस्करी रोक्नका लागि सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।
गृहमन्त्री गुरुङले सुरक्षा संवेदनशीलता र नागरिकको जिउधनको रक्षाका लागि सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिकाका बारेमा समेत निर्देशन दिए ।
