अब आवेदन दिएकै दिन श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिँदा प्रयोग हुँदै आएको टोकन प्रणाली खारेज गर्दै आवेदन दिएकै दिन स्वीकृति दिने नयाँ व्यवस्था सुरु गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यस्तो निर्णय लागू गरिएको जानकारी दिएको हो।

श्रममन्त्री दीपककुमार साहको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार श्रम तथा रोजगार क्षेत्रका कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको हो। यस व्यवस्थाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य हुने र सेवाको लागत तथा समय समेत घट्ने विश्वास मन्त्रालयले लिएको छ।

विज्ञप्तिअनुसार मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा, न्यूनतम ज्याला, कार्यस्थलको सुरक्षा र स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै नयाँ न्यूनतम मापदण्ड तयार गर्ने भएको छ। साथै, स्वदेशमै रोजगारी सिर्जना गर्न सीप विकास तालिम विस्तार गर्ने र निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशस्तरमा ‘सीप मेला’ सञ्चालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सूचना प्रविधिको प्रयोगलाई तीव्रता दिने बताएको छ। यसअन्तर्गत पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान पनि सञ्चालन गरिनेछ।

यसैगरी, औद्योगिक क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, थप ५ देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने र प्रचलित श्रम कानुनहरूमा समसामयिक सुधार गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ। यी सबै कार्यक्रमहरू तत्काल कार्यान्वयनमा लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाइसकिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *