खुल्यो बीपी राजमार्ग
फाइल तस्बिर
काभ्रे । शुक्रबारको वर्षापछि रोशी खोलामा आएको बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग आज आइतबार बिहान ६ बजेदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमा अहिले दुईतर्फी नै यातायातका साधन चल्न थालेका छन्।
प्रहरीले सडक खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। शुक्रबारदेखि परेको अविरल वर्षाले रोशी क्षेत्रमा निर्माण गरिएको अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो।
खोलामा पानीको सतह घटेपछि डाइभर्सन गरिएको सडकलाई मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो। यसअघि सडक अवरुद्ध हुँदा प्रहरीले जोखिम कम गर्न सवारी आवागमनमा रोक लगाएको थियो।
बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो। आज बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सक्रियतामा सडक खुलाउने प्रयास सफल भएको हो।
गत वर्ष असोजमा आएको ठूलो बाढीपहिरोले चौकीडाँडा-नेपालथोक खण्ड क्षतविक्षत बनाएपछि हाल खोलाकै किनारबाट अस्थायी डाइभर्सन बनाएर गाडी चलाउने गरिएको छ। शुक्रबारको बाढीले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो झर्नुका साथै सडक नै बगाएको थियो।
राजमार्ग बन्द हुँदा धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डे तथा पूर्वबाट काठमाडौँ आउँदै गरेका सवारी साधन नेपालथोक र मङ्गलटार क्षेत्रमा रोकिएका थिए। सडक खुलेपछि ती सवारी साधन अहिले आफ्नो गन्तव्यतर्फ लागेका छन्।
