शिक्षा क्षेत्रलाई पारदर्शी बनाउँछौं : शिक्षामन्त्री
काठमाडौं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पदबहाली गरेका छन्। शुक्रबार राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले कार्यभार सम्हालेका हुन्।
पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले पार्टीको पाँच वर्षे कार्यकालका लागि तय गरिएका १०० वटा बाचापत्र पूरा गर्नु नै सरकारको मुख्य प्राथमिकता रहेको बताए। उनले मतदाताले दिएको मतप्रति आफूहरू निकै संवेदनशील रहेको र सोही अनुसार जिम्मेवारीबोधका साथ काम गर्ने स्पष्ट पारे।
शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकको क्षमता अभिवृद्धि, विद्यालयको पूर्वाधार विकास र निजी विद्यालयहरूलाई थप व्यवस्थित बनाउने लक्ष्य रहेको उनले सुनाए। विशेषगरी शिक्षा क्षेत्रमा पारदर्शिता कायम गर्ने र विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन नतिजामुखी काम गर्ने उनले बताए।
बालेन नेतृत्वको सरकारमा दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो कार्यकालमा शिक्षक, क्षमता र पूर्वाधारका तीनवटै पक्षलाई सँगसँगै अघि बढाउने योजना अघि सारेका छन्।
