इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागले सरकारलाई सिफारिस गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन विभागले  प्रस्ताव गरेको हो ।

नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको वैज्ञानिक भाडा समायोजन विधिलाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।

विभागको सिफारिस अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत भाडा वृद्धिको प्रस्ताव गरिएको छ । त्यसैगरी पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा बढाउन भनिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ ।

२०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले यो सिफारिस तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *