राप्रपा सांसद खुश्बु ओलीले संस्कृतमा शपथ लिने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।

संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषा संस्कृत रोजेकी हुन्।

सचिवालयका अनुसार खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो मातृभाषा वा रुचि अनुसारको भाषामा शपथ लिने गरी विवरण बुझाएका छन्। नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ।

यस पटकको शपथ ग्रहणमा संस्कृतका साथै नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरूको समेत उपस्थिति देखिएको छ।

मातृभाषामा शपथ लिन चाहने सांसदहरूले आफ्नै भाषामा शपथको बेहोरा अनुवाद गरी त्यसको प्रतिलिपि सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न सांसदहरूले नेपाली बाहेकका अन्य भाषामा शपथ लिने तयारी गरेका छन्।

नेपाल भाषा (नेवारी) : काठमाडौँका सांसदहरू अनुष्का श्रेष्ठ, कुल भक्त शाक्य र विराज भक्त श्रेष्ठले नेपाल भाषा रोजेका छन्। त्यस्तै भक्तपुरका गङ्गालक्ष्मी अवाल, मदन कृष्ण श्रेष्ठ र मुकेश रञ्जितले पनि सोही भाषामा शपथ लिनेछन्।

मैथिली : महोत्तरीका उज्वल कुमार झा, दिपक कुमार साह र प्रमोद कुमार महतोले मैथिली भाषा रोजेका छन्। धनुषाका मातृकृ प्रसाद यादव र सुनसरीका सीताराम साहले पनि मैथिलीमै शपथ लिने विवरण बुझाएका छन्।

डोटेली : डडेल्धुराका आकृति अवस्थी र हरिजा देवी कामी तथा कञ्चनपुरका दिपक राज बोहराले डोटेली भाषामा शपथ लिनेछन्।

थारु र राना थारु : कञ्चनपुरका कृपाराम रानाले राना थारु भाषा रोजेका छन्। कञ्चनपुरकै गीता चौधरी र मोरङकी प्रमिला कुमारी गच्छदारले थारु भाषामा शपथ लिनेछन्।

संस्कृत : झापाकी सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनेछिन्।

भोजपुरी र मगही : रुपन्देहीका कन्हैया बनियाले भोजपुरी र धनुषाका जोग कुमार वरबरिया यादवले मगही भाषा रोजेका छन्।

तामाङ र बान्तावा : काठमाडौँका परशुराम तामाङले तामाङ र भोजपुरका ध्रुवराज राईले बान्तावा भाषामा शपथ लिनेछन्।

अवधि : बाँकेका मोहम्मद इस्तियाक राईले अवधि भाषामा शपथ लिने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *