इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ। यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया एवं पत्रकार भेटघाट कार्यक्रममा महोत्सवबारे जानकारी दिइएको हो। महोत्सव आयोजक समितिका संयोजक सनम राईले लोपोन्मुख रेडपाण्डा लगायतका वन्यजन्तुको संरक्षणबारे जनचेतना जगाउनु र क्षेत्रीय पर्यटनको विकास गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। यो महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको हो।
इलामको माईपोखरीदेखि जौबारीसम्म फैलिएको ४० किलोमिटर लामो रेडपाण्डा पदमार्गमा विभिन्न वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधताको अवलोकन गर्न सकिनेछ। महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय, सूर्यास्त र मनोरम हिमशृङ्खलाको दृश्य हेर्न पाउनेछन्। साथै जङ्गल सफारी, स्थानीय संस्कृति र परिकारको अनुभवका साथै रामसार सूचीमा सूचीकृत माईपोखरीको भ्रमण समेत गर्न सकिने आयोजकले जनाएका छन्।
सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कुमार लिम्बुले महोत्सवले गाउँपालिकाभित्रका प्रमुख गन्तव्यहरूको प्रचारप्रसारमा सहयोग पुग्ने बताए। महोत्सवमा आन्तरिक र बाह्य गरी करिब १० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ।
महोत्सव समितिका सदस्यहरू केशव धौराली र सुजन तिम्सिनाले विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको महत्त्वबारे प्रष्ट पारे। कलाकार कृष्ण मल्लले पनि सबैलाई सन्दकपुर र माईपोखरीको भ्रमण गर्न आह्वान गरे। सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा हुने यस महोत्सवले स्थानीय स्तरमा रोजगारी सिर्जना र वातावरण संरक्षणमा समेत टेवा पुऱ्याउने विश्वास गरिएको छ।
