मोरङमा बर्डफ्लू संक्रमण तीव्र, ५ फार्ममा पुष्टि

विराटनगर। मोरङ जिल्लाभित्र कुखुरामा लाग्ने घातक बर्डफ्लू संक्रमण तीव्र गतिमा फैलिरहेको छ। केही दिनयता एकपछि अर्को स्थानमा संक्रमण देखिएपछि कुखुरा पालक किसानहरू चिन्तित बनेका छन्।

पछिल्लो पटक विराटनगरमा पनि संक्रमण पुष्टि भएपछि जिल्लामा प्रभावित पोल्ट्री फार्मको संख्या पाँच पुगेको छ। फैलिँदो क्रममा रहेको यो संक्रमण नियन्त्रणका लागि सरकारी निकायहरू सक्रिय भएका छन्।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख अजयकुमार साहले आइतबार विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फार्ममा बर्डफ्लू पुष्टि भएको बताए।

यसअघि सुन्दरहरैँचा-४ को हलेसी महादेव कृषि फार्म, उर्लाबारी-८ को अठियावारी कृषि फार्म, कटहरी-२ को ई टु जेड पोल्ट्री फार्म र कटहरी-६ को कामख्या पोल्ट्री फार्ममा संक्रमण देखिइसकेको उनले जानकारी दिए।

संक्रमण पुष्टि भएसँगै प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सुरु गरिएको छ। प्रमुख साहका अनुसार संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका कुखुरा, अण्डा, दाना र ओछ्यान लगायतका सामग्री नष्ट गर्ने काम भइरहेको छ।

सरकारी टोलीले मरेका पन्छी र तिनको मलमूत्रलाई सुरक्षित रूपमा खाल्डोमा गाडेर औषधीय घोलको प्रयोग गरी निसंक्रमण गरिरहेको छ।

विराटनगरको दाहाल कृषि फार्मको हकमा प्राविधिक प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको र छिट्टै त्यहाँका कुखुरा नष्ट गरिने तयारी छ। अन्य चार स्थानमा भने संक्रमित पन्छी नष्ट गर्ने कार्य सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

बर्डफ्लूका कारण ठूलो आर्थिक क्षति हुन सक्ने जोखिम बढेपछि पशु सेवा कार्यालयले किसानहरूलाई उच्च सतर्कता अपनाउन र जैविक सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

कुखुरामा कुनै पनि असामान्य लक्षण देखिएमा तुरुन्त जानकारी गराउन समेत किसानहरूलाई सुझाइएको छ। अहिले मोरङमा निगरानी, परीक्षण र सचेतना अभियानलाई तीव्र पारिएको भए पनि संक्रमणको जोखिम अझै टरिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *