उत्साहका साथ मनाइँदै इद उल फित्र
विराटनगर। मुस्लिम समुदायको महान् पर्व इद उल फित्र आज शनिबार देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ । एक महिना लामो रोजा (उपवास) पूरा भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
इदको अवसरमा आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले विभिन्न मस्जिद र इदगाहमा भेला भई विशेष नमाज अदा गरेका छन् ।
काठमाडौँको नेपाली जामे मस्जिदसहित देशका विभिन्न स्थानमा रहेका मस्जिदहरूमा बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति रहेको थियो । नमाजपछि उनीहरूले एक-आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।
नमाज अदा गरेपछि आफ्ना ठूलाबडा तथा आफन्तहरूकहाँ गई आशीर्वाद लिने र सानालाई माया दिने परम्परा रहेको छ । यस पर्वको एउटा महत्वपूर्ण पक्ष दान र सामाजिक सहकार्य पनि हो ।
इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानमा उल्लेख भएअनुसार मुस्लिमहरूले आफ्नो आम्दानीको निश्चित हिस्सा गरिब र असहायलाई दान गर्ने गर्छन्, जसलाई ‘जकात’ भनिन्छ । त्यस्तै ‘सत्कार फितर’का रूपमा अन्न वा नगद सहयोग समेत प्रदान गर्ने गरिन्छ ।
इदको उपलक्ष्यमा घरघरमा सेवई, खजुर र विभिन्न मिष्ठान्न परिकार बनाएर पाहुनाहरूलाई सत्कार गर्ने चलन छ । यो पर्वले आपसी भाइचारा, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ ।
