युद्ध रोक्न माग गर्दै दूतावासअघि प्रदर्शन
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले इजरायल र अमेरिकाद्वारा इरानमा गरिएको हवाइ आक्रमणपश्चात जारी युद्ध तत्काल अन्त्य गर्न माग गर्दै काठमाडौँस्थित अमेरिकी र इजरायली दूतावास एवं इरानी कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको छ।
समाजले महाराजगन्जस्थित अमेरिकी दूतावास, लाजिम्पाटस्थित इजरायली दूतावास र दरबारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि छुट्टाछुट्टै प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा शान्तिवादीहरूले युद्ध रोकी शान्ति प्रवर्द्धन गर्न र शासकहरूको अहंकार त्याग्न आग्रह गर्दै विभिन्न प्लेकार्डहरू प्रदर्शन गरे। उनीहरूले अमेरिकालाई आक्रमणकारी भूमिका बन्द गर्न, इजरायललाई बर्बरता रोक्न र इरानलाई आणविक महत्त्वाकांक्षा परित्याग गरी आफ्नै नागरिकमाथिको दमन बन्द गर्न आग्रह गरे।
प्रदर्शनपश्चात शान्ति समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै लेखिएको पत्र अमेरिकी दूतावासमा हस्तान्तरण गरेको छ।
उक्त पत्रमा युद्ध विस्तार हुनु विश्व शान्तिकै लागि गम्भीर खतरा भएको उल्लेख गर्दै तत्काल युद्ध अन्त्यको घोषणा गर्न आग्रह गरिएको छ। समाजले अमेरिकालाई युद्धको पक्षधर नभई सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहेको समेत स्पष्ट पारेको छ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द खनालसहित दर्जनौँ शान्तिवादीहरूको सहभागिता थियो। काठमाडौँ बाहेक बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, पोखरा र बिर्तामोड लगायतका विभिन्न जिल्ला शाखाहरूले पनि युद्ध अन्त्यको माग गर्दै प्रदर्शन गरेका छन्।
