एकै छिनमा मुसहर बस्तीका १० घर खरानी
विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका-४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो अचानक भएको आगलागीबाट १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
दिउँसो करिब २ बजेतिर सुरु भएको आगोले फुसको छाना र टाटीबेराले बनेका घरहरूलाई करिब ४५ मिनेटभित्रै खरानी बनाएको हो। गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा आगो तीव्र गतिमा फैलिएकाले स्थानीयले ठूलो क्षति बेहोर्नुपरेको छ।
बस्तीका घरहरूको बनावट कमजोर भएकाले आगो तत्काल नियन्त्रण गर्न कठिन भएको मोरङ प्रहरीका सूचना अधिकारी लीलाराज लामिछानेले बताए।
आगलागीको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सक्रिय प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीका क्रममा घरभित्र रहेका ग्यास सिलिन्डरहरू विस्फोट भएपछि स्थिति अझै भयावह बनेको थियो। सिलिन्डर विस्फोटले आगोको राप बढेपछि नियन्त्रणमा चुनौती थपिएको भए पनि प्रहरी र स्थानीयले बीचको एउटा घर भत्काएर आगोलाई थप बस्तीमा फैलनबाट रोकेका थिए।
जोखिम मोलेरै घर भत्काइएका कारण अन्य घरहरू जोगिन सफल भएको घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए।
यस दुर्घटनाबाट भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरू बिचल्लीमा परेका छन्। घरसँगै लत्ताकपडा, नगद, सुनचाँदी र अन्नपात सबै नष्ट भएपछि उनीहरू अहिले खुला आकाशमुनि बस्न बाध्य छन्।
बालबालिका, वृद्धवृद्धा र महिलाहरू यतिबेला अत्यन्तै त्रासमा रहेका छन्। प्रहरीले हाल क्षतिको पूर्ण विवरण संकलन गरिरहेको छ।
आगलागीको यकिन कारण अझै खुल्न सकेको छैन। विद्युत सर्ट भएर वा खाना पकाउँदा भएको असावधानीमध्ये कुनै एक कारण हुनसक्ने अनुमान गरिए पनि यसबारे अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए।
विपन्न र कमजोर आर्थिक अवस्था भएको यो समुदायलाई तत्काल खाद्यान्न, लत्ताकपडा र अस्थायी आवासको आवश्यकता देखिएको छ।
