हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता आए रास्वपा सरकारलाई समर्थन : थापा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई समर्थन गर्न सकिने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाएमा मात्र यस्तो समर्थन रहने सर्त अघि सारेका हुन् ।
संसदमा दुईतिहाइ बहुमत पुर्याउन प्रस्तावित सरकारलाई दुई सिट कम रहेको उल्लेख गर्दै थापाले धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापनाका लागि सरकार तयार भए राप्रपाका पाँच सांसदले पूर्ण सहयोग गर्ने बताए ।
उनले लेखेका छन्, ‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’
नेपालमा लामो समयदेखि राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले संविधान संशोधनलाई मुख्य मागका रूपमा उठाउँदै आएको छ ।
पछिल्लो राजनीतिक समीकरणमा बालेन शाह र रास्वपाको सक्रियता बढिरहेका बेला थापाको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
