नयाँ सरकार बनेपछि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

ललितपुर । ललितपुर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद विनोद महर्जनको परिवारसँग भेटघाट गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

खरेलले ‘जेनजी’ आन्दोलनकै जगमा मुलुकमा निर्वाचन सम्भव भएको उल्लेख गर्दै सो प्रतिवेदन कार्यान्वयन गर्नु आगामी सरकारको प्रमुख दायित्व हुने बताए ।

वर्तमान सरकारले नै मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका सम्बन्धमा आवश्यक निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । आयोगले दिएका सुझाव र निष्कर्षहरूलाई कार्यान्वयन गर्दै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन राष्ट्रिय स्वतन्त्र पार्टी दृढ रहेको उनको भनाइ छ ।

सांसद खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम तथा देशमै शिक्षा, रोजगारी र स्वास्थ्यको सुनिश्चितताका लागि भएको यो युवा क्रान्तिलाई रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने दाबी समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *