चुनाव जितेलगत्तै महावीर पुन फेरि किताब बेच्न सडकमा
केही महिनाअघि इलाममा पुस्तक बेच्दै महावीर ।
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका महावीर पुनले पुनः आफ्नो आत्मकथा बिक्री गर्ने अभियान सुरु गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखराका विभिन्न चोकमा बसेर किताब बेच्ने बताए।
चुनावको दौडानमा पनि किताब बेच्ने योजनासहित पुस्तकहरू लगेको भए तापनि निर्वाचन आयोगले अनुमति नदिएका कारण त्यस बेला बिक्री गर्न नपाएको उनले उल्लेख गरे।
“आज पोखरा पुगेर १० बजेदेखि अमरसिंह चोकमा मेरो आत्मकथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजेदेखि र महेन्द्रपुलमा ४ बजेपछि बेचिनेछ,” पुनले लेखेका छन्।
वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन आफूले किताब बेचिरहेको उनले स्पष्ट पारेका छन्। “वीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलिरहेकै छ, त्यसैले पैसा त चाहियो नि,” भन्दै उनले सामाजिक सेवा र अनुसन्धानका लागि आर्थिक स्रोत जुटाउने आफ्नो पुरानै शैलीलाई निरन्तरता दिएका हुन्।
निर्वाचन जितेर सांसद बने पनि आफ्नो सादगी र लक्ष्यप्रतिको निष्ठालाई उनले कायम राखेका छन्।
