तीनैपटक हारेपछि मिश्रद्वारा सक्रिय राजनीतिबाट विश्राम घोषणा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पुनः पराजित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत तत्कालका लागि राजनीतिबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको जनमतलाई सङ्गठित गर्न नसकेको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो निर्णय कुनै निराशा वा हतारमा नभई निकै सोचविचार गरेर लिएको स्पष्ट पारेका छन्। “देशभर राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि पार्टीले विविध कारणले त्यसलाई पुँजीकृत गर्न सकेन,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

देशको बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिका कारण भावी पुस्ताका लागि देश जोगाउन कठिन रहेको निष्कर्षमा आफू पुगेको मिश्रको भनाइ छ। सक्रिय राजनीतिबाट बाहिरिए पनि उनले गैरदलीय राजनीति, राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दाहरूमा आफ्नो अडान यथावत् रहने बताएका छन्। ९ वर्षको राजनीतिक यात्रामा साथ दिने स्वदेश तथा विदेशका नेपाली र पार्टीका साथीहरूप्रति उनले आभार प्रकट गरेका छन्।

मिश्र यसअघि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौँ–१ बाटै पराजित भएका थिए। यसपटकको निर्वाचनमा रास्वपाकी रञ्जु दर्शना (नेउपाने) सँग पराजित भएपछि उनले यो निर्णय लिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *