विश्वप्रकाशको प्रतिक्रिया: ‘ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत’
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका लागि प्रतिकूल परिणाम देखिएपछि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर अप्रत्याशित अग्रता लिएपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उपसभापति शर्माले विगतमा ‘बुलेट’ (हतियार) बाट आएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा स्वागत गरेको स्मरण गर्दै अहिले ‘ब्यालेट’ (मतदान) बाट उदाउँदै गरेको रास्वपालाई स्वागत गर्ने संयम देखाउनुपर्ने बताए।
“मतदाताको फैसला स्वीकार्य छ,” उनले लेखेका छन्, “२०७९ को निर्वाचनमै देखिएको संकेतका आधारमा अहिलेको परिणामलाई अप्रत्याशित मान्न सकिँदैन।”
उनले नयाँ शक्तिको उदयसँगै जनतामा पलाएको चर्को आशा फेरि अर्को निराशामा बदलिएला कि भन्ने चिन्ता पनि व्यक्त गरे। देशका मुख्य मुद्दाहरूमा रचनात्मक साथ र आवश्यक खबरदारी दुवै रहने स्पष्ट पार्दै शर्माले लोकतान्त्रिक अभ्यासमा आएको यो परिवर्तनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।
