नेकपाको चुनावी अपिल: ‘भ्रष्टाचार गर्नेको सम्पत्ति राष्ट्रियकरण’

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी दलहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित सो अपिलमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको छ।

‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको नेकपाले सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई मुख्य मुद्दा बनाएको छ। वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल भएको निष्कर्ष निकाल्दै पार्टीले यसमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ। अस्थिरता अन्त्यका लागि कम खर्चिलो र सरल निर्वाचन प्रणाली अपनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।

संविधानको सवालमा नेकपाले खारेजीको अतिवादी सोचलाई अस्वीकार गर्दै गम्भीर समीक्षा र पुनरावलोकनमार्फत आवश्यक परिमार्जन गर्ने अठोट लिएको छ। लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्ने लक्ष्य अपिलमा उल्लेख छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अघि सार्दै नेकपाले आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने कडा प्रतिबद्धता जनाएको छ। सेवा प्रवाहमा हुने कमिसनतन्त्र, ढिलासुस्ती र अपारदर्शिताको अन्त्य गर्ने दाबी नेताद्वयले गरेका छन्।

आर्थिक क्षेत्रमा आयातमुखी राजस्व र व्यापार घाटा कम गर्दै कृषि, उद्योग र पर्यटनमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। शिक्षा, स्वास्थ्य र छानामा सबैको पहुँच सुनिश्चित गर्ने तथा मिटरब्याजी र कालोबजारी जस्ता आर्थिक अपराध नियन्त्रण गर्ने पार्टीको लक्ष्य छ। यस्तै, समाजमा व्याप्त छुवाछुत, छाउपडी र लैंगिक विभेद अन्त्यको प्रण गरिएको छ।

परराष्ट्र नीतितर्फ पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र नीति अपनाउने, विदेशी हस्तक्षेप अस्वीकार गर्ने, असमान सन्धिहरू खारेज गर्ने र अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने विषयलाई अपिलमा प्राथमिकता दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *