१ लाख ८६ हजार अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्ने
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १ लाख ८६ हजार अस्थायी मतदाता कायम गरेको छ। यी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनेछन्।
आयोगका अनुसार मतदाता सूचीमा नाम समावेश भएका तर आफ्नो स्थायी मतदानस्थलमा पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरूलाई यो सुविधा दिइएको हो।
यसअन्तर्गत नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कारागारमा रहेका थुनुवा र कैदी तथा निर्वाचनमा खटिएका जनशक्तिले तोकिएको मतदानस्थलबाट भोट हाल्न पाउनेछन्।
त्यस्तै, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नाम पनि अस्थायी मतदाता सूचीमा समावेश गरिएको छ। अस्थायी मतदाताहरूले मतदान गर्नका लागि देशभर १४३ वटा मतदानस्थल निर्धारण गरिएको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
