झापा-५ मा सुरक्षा व्यवस्था कडा

झापा। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाह जस्ता ‘हाइ-प्रोफाइल’ उम्मेदवार चुनावी मैदानमा रहेकाले गृह मन्त्रालयले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको हो। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले यस क्षेत्रमा मात्रै पाँच जना डीएसपीको नेतृत्वमा ठूलो संख्यामा टोली खटाएको छ।

सामान्यतया इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहने गरेकोमा, निर्वाचन सुरक्षाका लागि थप चार जना डीएसपी पठाइएको छ। अहिले झापा-५ अन्तर्गतका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिका लगायत प्रत्येक स्थानीय तहमा एक-एक जना डीएसपीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ। यस क्षेत्रको सुरक्षाका लागि मात्रै हाल २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

झापा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा साविकको तुलनामा तीन गुणा बढी प्रहरी थप गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय र गृह मन्त्रालयबाट आएको थप टोलीले जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने उनले बताइन्।

सरकारले झापासँगै देशभरका सातै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त टोलीहरू परिचालन गरेको छ। खटिएका अधिकारीहरूलाई मतदान प्रक्रिया सकिएपछि मात्रै कार्यक्षेत्र छाड्न निर्देशन दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *