‘घोषणापत्रमा के छ?’: दलका प्रतिबद्धता कार्यान्वयनका लागि युवा निगरानी

काठमाडौँ । राजनीतिक दलहरूले घोषणापत्रमा गरेका प्रतिबद्धताहरू केवल कागजमा मात्र सीमित नहुन् भन्ने उद्देश्यले युवा पुस्ताले निगरानी बढाउन सुरु गरेका छन्।

मतदाता शिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ जेन जेड सिभिक फोरम, जेन जेड मुभमेन्ट एलायन्स, डेमोक्रेसी रिसोर्स सेन्टर, युथ इन फेडरल डिसकोर्स र एड्भोकेसी फोरम नेपालले संयुक्त रूपमा ‘म्यानिफेस्टोमा के छ ?’ शीर्षकको कार्यक्रम आयोजना गरेका छन्।

मंगलबार आयोजित कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थी मजिद अन्सारीले जेनजी आन्दोलन र सरकारबीच भएको १० बुँदे सम्झौताका विषयलाई दलहरूले कसरी समेटेका छन् भन्नेबारे गहन अध्ययन गरिएको बताए।

उनले कुनै पनि एजेन्डा कार्यान्वयनका लागि सबै दलले त्यसको स्वामित्व लिनुपर्नेमा जोड दिँदै दलका वाचाहरूलाई वर्गीकृत गरेर सार्वजनिक गरिएको जानकारी दिए। कार्यक्रममा श्रम, भूमि, आर्थिक नीति र सुशासनसम्बन्धी प्रतिबद्धताहरूलाई साझा एजेन्डाका रूपमा प्रस्तुत गरिएको थियो।

आयोजक मोनिषा चौधरीका अनुसार धेरै मतदाताले समय अभावका कारण घोषणापत्र पढ्न नभ्याउने हुनाले यसलाई क्षेत्रगत रूपमा विभाजन गरी बुझ्न सहज बनाइएको हो। यस्तै, अधिवक्ता प्रज्वल विक्रम राणाले घोषणापत्र नपढेरै भोट हाल्ने पुरानो संस्कृतिलाई चिर्दै बुझेर मात्र मतदान गर्ने बानी बसाल्न यो अभियान सुरु गरिएको बताए।

कार्यक्रममा आठ प्रमुख राजनीतिक दलका घोषणापत्रलाई सात विषयगत क्षेत्रमा विभाजन गरी अध्ययन गरिएको थियो। सहभागीहरूलाई घोषणापत्रको सारांशका आधारमा आफूलाई मन परेको एजेन्डामा मत दिने व्यवस्था समेत मिलाइएको थियो, जसबाट कुन दलको प्रतिबद्धता बढी प्रभावकारी र व्यावहारिक छ भन्ने मूल्याङ्कन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *