कर्णालीमा निर्वाचन तयारी : १५ हजार सुरक्षाकर्मी परिचालन
सुर्खेत । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि आवश्यक सामग्रीहरू १० वटै जिल्लामा पुर्याइसकिएको छ भने सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले जिल्ला सदरमुकामहरूबाट मतदान स्थलसम्म निर्वाचन सामग्री लैजाने काम भइरहेको बताए।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशभर १५ हजार ३ सय २२ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा ५ हजार ५ सय ८० नेपाल प्रहरी र ९ हजार ७ सय ४२ म्यादी (निर्वाचन) प्रहरी रहेका छन्।
प्रदेशका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्लामा रहेका ६ वटा विमानस्थल तथा ९ वटा कारागारको सुरक्षामा नेपाली सेनालाई खटाइएको छ। भौगोलिक रूपमा विकट र सडक सञ्जाल नपुगेका हिमाली जिल्लाका दुर्गम मतदान स्थलहरूमा निर्वाचन सामग्री पुर्याउन र मतदानपछि मतपत्र संकलन गर्न हेलिकप्टर परिचालन गरिने प्रवक्ता शाहले जानकारी दिए। केही दुर्गम स्थानमा भने सामग्री ढुवानीका लागि घोडाको प्रयोग गरिएको छ।
कुल १० लाख ३७ हजार २५० मतदाता रहेको कर्णाली प्रदेशमा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्रहरू तोकिएका छन्। नेपाली सेनाले नियमित गस्ती गरिरहेकाले सुरक्षामा कुनै कमी हुन नदिने सुरक्षा निकायले जनाएको छ।
