निर्वाचनमा मत बदर हुने ११ अवस्था: जान्नैपर्ने महत्त्वपूर्ण कुरा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता शिक्षालाई तीव्र बनाएको छ।

मतदानका क्रममा सामान्य गल्तीका कारण पनि आफ्नो अमूल्य मत बदर हुन सक्ने भन्दै आयोगले विभिन्न ११ वटा अवस्थामा मत बदर हुने स्पष्ट पारेको छ।

आयोगले सञ्चालन गरेको टोल–फ्री नम्बर ११०२ मा मतदाताहरूले कस्तो अवस्थामा मत बदर हुन्छ भनी राखेको जिज्ञासाको जवाफ दिँदै यी बुँदाहरू सार्वजनिक गरिएको हो।

आयोगका अनुसार मतदान अधिकृतको दस्तखत नभएको मतपत्र प्रयोग गरेमा वा आयोगले तोकेको मसी र स्वस्तिक चिह्न बाहेक अन्य छाप वा औँठा छाप लगाएमा मत बदर हुनेछ।

त्यस्तै, मतपत्रमा सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा मतपत्र च्यातिएको अवस्थामा पनि त्यसलाई मान्यता दिइने छैन।

उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मतसङ्केत गरेमा, निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारलाई मत दिएमा वा एकभन्दा बढी चिह्नमा छाप लगाएमा पनि मत बदर हुने आयोगले जनाएको छ।

यसका साथै मतसङ्केत नगरी फिर्ता दिइएको, कुनै पनि चिह्नमा छाप नलगाइएको, आयोगले तोकेको बाहेक अन्य मतपत्र प्रयोग गरिएको, मतपेटिकाभन्दा बाहिर भेटिएको र जाली प्रमाणित भएका मतपत्रहरू स्वतः बदर हुनेछन्।

निर्वाचन आयोगले प्रत्येक मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै मतपत्र प्राप्त गरेपछि आफूले चाहेको उम्मेदवारको चिह्न भएको कोठाभित्र स्पष्ट बुझिने गरी स्वस्तिक छाप लगाउन निर्देशन दिएको छ।

सही तरिकाले मतदान गरी आफ्नो नागरिक अधिकारको सदुपयोग गर्न आयोगले सबैमा अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *