निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीहरूलाई निर्वाचन कार्यमा नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित दुर्घटना र आकस्मिक स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनका बेला हुन सक्ने जोखिम र आकस्मिक घटनाहरूको तत्काल उपचारका लागि स्वास्थ्यकर्मीहरू २४सै घण्टा कार्यक्षेत्रमा तयारी अवस्थामा रहनुपर्ने बताए।

स्वास्थ्यकर्मीहरूलाई चुनावी ड्युटीमा खटाउँदा अस्पताल र स्वास्थ्य केन्द्रहरूको सेवा प्रभावित हुन सक्ने र आपत्कालीन अवस्थामा जनशक्तिको अभाव हुन सक्ने मन्त्रालयको ठहर छ।

मन्त्रालयले आयोगलाई पत्र लेख्दै स्वास्थ्यकर्मीहरूलाई आफ्नै कार्यक्षेत्रमा रहेर स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुन दिन आग्रह गरेको हो।

मन्त्रालयले देशभरका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूलाई निर्वाचनको समयमा हुनु पर्ने कुनै पनि आकस्मिक उपचारका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *