उदयपुरमा बस दुर्घटना: १५ घाइते, ६ जना विराटनगर रिफर
उदयपुर । मदन भण्डारी सडक मार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा२ख ६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताए।
दुर्घटनामा कटारी–६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाका २० वर्षीया मोनिका मगर, १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ घाइते भएका छन्।
त्यस्तै, कटारीका २५ वर्षीय अनिल चौधरी, त्रियुगा नगरपालिका–१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत तथा उदयपुरगढीका १० वर्षीय दिवश तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ। बाँकी घाइतेहरूको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
