निर्वाचनविरोधी गतिविधि र लाञ्छना लगाउनेलाई कारबाही हुने
काठमाडौँ। चुनाव प्रचारका क्रममा विभिन्न जिल्लाहरूमा राजनीतिक दल तथा व्यक्तिविरुद्ध लाञ्छना लगाउने र निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि गृह मन्त्रालयले कडा कदम चाल्ने भएको छ।
यस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै कानुन हातमा लिने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिइएको छ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका उच्च अधिकारीहरूसँग यसबारे विशेष छलफल गरे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भइरहेका उच्छृङ्खल गतिविधि र लाञ्छना लगाउने कार्य दण्डनीय भएकाले संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय भएको छ।
गृह मन्त्रालयकी सहप्रवक्ता एवं उपसचिव रमा आचार्य सुवेदीले निर्वाचनविरोधी गतिविधि गर्ने, टायर बाल्ने, राँके जुलुस निकाल्ने र सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्यमा संलग्नलाई तत्काल कारबाही गरिने बताइन्। मन्त्रालयले यस्ता गतिविधि गर्ने जोकोहीलाई पनि नछोड्ने स्पष्ट पारेको छ।
यसका साथै, धार्मिक सम्प्रदायबिचको सम्बन्धमा खलल पार्ने र हिंसात्मक गतिविधि गर्नेहरूलाई पनि कानुनअनुसार कडा कारबाही गरिने उपसचिव सुवेदीले जानकारी दिइन्। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयले जनाएको छ।
