निर्वाचनका लागि ३ दिन बिदा दिन आयोगको सिफारिस
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
निर्वाचनमा आम मतदाताको सहज सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरिएको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबैको सहभागिताका लागि तीन दिन बिदाको प्रस्ताव पठाइएको बताए। यद्यपि, यो सिफारिसलाई स्वीकृत गर्ने वा नगर्ने निर्णय भने सरकारको अधिकार क्षेत्रभित्र पर्छ।
यदि सरकारले आयोगको यो सिफारिस कार्यान्वयन गरेमा देशमा लगातार ७ दिन सार्वजनिक बिदा हुने देखिएको छ। फागुन १८ र १९ गते होली पर्वको बिदा छ।
त्यसपछि फागुन २० देखि २२ गतेसम्म निर्वाचनको प्रस्तावित बिदा थपिएमा र फागुन २३ गते अन्तर्राष्ट्रिय नारी दिवस तथा २४ गते शनिबार परेकाले सर्वसाधारणले लगातार एक हप्ता बिदा पाउनेछन्।
