डोल्पामा पुग्यो निर्वाचन सामग्री: सेनाको स्काई ट्रकमार्फत ढुवानी

डोल्पा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा आइतबार निर्वाचन सामग्री आइपुगेको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचनका लागि आवश्यक महत्वपूर्ण सामग्रीहरू ढुवानी गरिएको हो।

निर्वाचन अधिकृत कृष्ण बहादुर रावतका अनुसार सेनाको स्काई ट्रकले सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर र रङ्गीन मतदाता नामावलीजस्ता सामग्रीहरू जिल्ला पुर्‍याएको छ। मतपेटिका भने जिल्लामै पर्याप्त मौज्दात रहेको उनले जानकारी दिए। भौगोलिक विकटताका कारण हिमाली जिल्लाहरूमा निर्वाचन सामग्री समयमै पुर्‍याउन हवाई मार्गको प्रयोग गरिएको हो।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा यस पटक कुल २४ हजार ११५ मतदाता रहेका छन्। जसमा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला मतदाता सहभागी हुँदैछन्। निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाभर दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्रहरू कायम गरिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका अनुसार निर्वाचन सम्पन्न गराउन जिल्लाभर ४१४ जना कर्मचारीहरू खटाइएको छ। सुरक्षा व्यवस्था र कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *