‘कसैले कुण्ठा व्यक्त गर्दैमा चुनाव रोकिँदैन’
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले संविधान संरक्षणका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
गोरखापत्र एकेडेमीद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचन बिथोल्ने प्रयास गर्नेहरूलाई चेतावनी समेत दिए।
कुनै कुण्ठित व्यक्तिले कुण्ठा व्यक्त गर्दैमा निर्वाचन नरोकिने स्पष्ट पार्दै भण्डारीले निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गरे।
धमिलो पानीमा माछा मार्ने प्रयास कसैबाट हुन नहुने भन्दै उनले राजनीतिक दलहरू गाउँ-गाउँ पुगिसकेको अवस्थामा चुनावबारे भ्रम नछर्न आग्रह गरे। यसपटकको निर्वाचनमा देखिएको उत्साह विगतको तुलनामा निकै बढी रहेको उनको अनुभव छ।
सञ्चारमाध्यमको भूमिकाबारे चर्चा गर्दै कार्यवाहक प्रमुख आयुक्तले केही प्रतिष्ठित मिडियाले मत सर्वेक्षण सार्वजनिक गरेर मतदातालाई भ्रमित पारेकोमा असन्तुष्टि जनाए।
निर्वाचन आचारसंहिता पालना गराउन आयोगले सम्झाइबुझाइ गरिरहेको तर यसलाई कमजोरी नठान्न उनले चेतावनी दिए। पटक-पटकको अटेरी जारी रहेमा संविधान र कानुन बमोजिम कडा कारबाही गरिने उनले बताए।
