‘मालती मङ्गले’ वैशाखमा

काठमाडौँ। गायक रामकृष्ण ढकालले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘मालती मङ्गले’को आधिकारिक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार यो चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। ग्रामीण परिवेशको झल्को दिने गरी तयार पारिएको पोस्टरमा विजयले वर्षाको काखमा टाउको राखेका छन् भने वर्षाले मुस्कानसहित उनलाई साथ दिएकी छिन्। विजय बस्यालले डिजाइन गरेको यस पोस्टरले चलचित्रले माटोको सुगन्ध बोकेको अर्ग्यानिक प्रेमकथा समेटेको सङ्केत गर्छ।

निर्देशक प्रकु पाण्डेयले यस चलचित्रलाई विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा तयार पारेको बताए। यो सबै उमेर समूहका दर्शकले एकसाथ बसेर हेर्न मिल्ने र समाजको बलियो पाटोलाई उजागर गर्ने खालको चलचित्र भएको उनको दाबी छ। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। चलचित्रमा विजय र वर्षाका साथै मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारको अभिनय देख्न पाइनेछ। महेश पौडेलले खिचेको यस चलचित्रको डिजिटल वितरण ओएसआर डिजिटलले गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *