माग सम्बोधन नभए निर्वाचन स्वीकार्य : जेनजी आन्दोलनकारी
काठमाडौं। संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले आफ्ना माग सम्बोधन नगरी गरिने निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सरकारले आफूहरूसँग गरेको ६ बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको भन्दै कडा रोष व्यक्त गरे।
आन्दोलनका सह-संयोजक अजय सोडारीले ११ दिनसम्म अनसन बसेपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नगरेको बताए। “म र सरकारबीच भएको सम्झौता कार्यान्वयन नहुँदा बेचैन छु,” सोडारीले भने, “सरकारले हाम्रा ७६ जना साथीहरूको बलिदान र घाइतेहरूको योगदानमाथि बुट बजार्ने काम गरेको छ।” उनले माग पूरा नभए फेरि जेल जान तयार रहेको समेत बताए।
आन्दोलनका कमाण्डर सुनिल सिंहले आफूहरू चुनाव विरोधी नभएको प्रष्ट पार्दै जेनजीका हत्यारालाई कारबाही र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नभएसम्म निर्वाचनको अर्थ नहुने उल्लेख गरे। उनले बालेन शाहप्रति इङ्गित गर्दै देशलाई विदेशी गुलाम बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताए।
नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र प्रस्तावित स्वास्थ्य मन्त्री डा. जगत विकले यथास्थितिमा हुने निर्वाचनले देशलाई थप अस्थिरता र द्वन्द्वमा धकेल्ने दाबी गरे। विकले मेयर पद त्यागेर प्रधानमन्त्रीको दौडमा लागेका बालेन शाहको कदम गलत भएको टिप्पणी गरे।
जेनजी सल्लाहकार लेनलिन विष्टले सर्वपक्षीय सहमतिको सरकारमार्फत माग पूरा गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा जोड दिए। उनले वर्तमान सरकारका अधिकांश व्यक्तिहरू रास्वपाका उम्मेदवार हुनुले आन्दोलन ‘हाइज्याक’ भएको आशंका व्यक्त गरे। अन्य सहभागीहरू प्रकाश बम, अनुप बोहरा र सुजन पौडेलले पनि निर्वाचनले देशलाई निकास नदिने भन्दै सम्भावित क्षतिको जिम्मेवार सुशीला कार्की नेतृत्वको सरकार हुने चेतावनी दिए।
