प्रतिगामी तत्वहरूले निर्वाचन बिथोल्न चलखेल गरे: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासले मिल्काइसकेका शक्तिहरूले आगामी निर्वाचन बिथोल्न अनेकौँ चलखेल गरिरहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित ‘नेकपा दोलखा-काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटी’ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले निर्वाचन हुँदैन भन्ने खालका भ्रमपूर्ण प्रचारको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै दृढतापूर्वक चुनावी तयारीमा होमिन अपिल गरे। “हिजो जनक्रान्तिले फ्याँकेका केही मानिसहरू अझै पनि निर्वाचन हुँदैन भन्दै हिँडेका छन्, यस्ता प्रतिगामी हर्कतको कुनै अर्थ छैन,” उनले भने।

अहिलेको राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै उनले देशमा तीनवटा प्रवृत्ति आमनेसामने भएको टिप्पणी गरे। शान्तिपूर्ण आन्दोलनकारीमाथि गोली हान्ने घातक प्रवृत्ति र देश जलाउन खोज्ने विध्वंशकारी प्रवृत्तिविरुद्ध नेकपा खडा भएको उनको भनाइ छ। यस्ता हत्यारा र विध्वंशकारी शक्तिलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने प्रचण्डले जिकिर गरे।

नयाँ राजनीतिक दलहरूतर्फ लक्षित गर्दै उनले केही समयका लागि आएको हावाहुरी अब थामिइसकेको दाबी गरे। “हावाहुरी सधैँ चल्दैन, मानिसहरूले बुझिसकेका छन् कि देशलाई एकीकृत गर्ने एक मात्र पार्टी नेकपा नै हो,” उनले भने। अबको बाँकी १२ दिन युद्धस्तरमा खटिए नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गर्दै उनले दोलखाका उम्मेदवार खड्काको जित देशभरकै लागि गर्व गर्न लायक हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *