निर्वाचनअघि मत सर्वेक्षण सार्वजनिक नगर्न आग्रह
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी त्यसको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा तथा निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका प्रतिनिधि र कलाकारहरूसँगको छलफलमा उनले यसतर्फ सचेत गराएका हुन्।
मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने र उम्मेदवारहरूलाई हतोत्साही बनाउँदै प्रतिस्पर्धाको वातावरणमा खलल पुर्याउने भएकाले निर्वाचन अघि नै यस्ता सर्वेक्षण सार्वजनिक गर्न नहुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ।
उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै कमजोर बनाउन सक्ने जोखिमप्रति सबैलाई गम्भीर बन्न ध्यानाकर्षण गराए।
उनले विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी सिर्जना गरिएका भ्रामक सामग्रीहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र त्यस्ता कार्य रोक्न सहयोगी भूमिका निर्वाह गरिदिन आम सञ्चार लगायतका सम्बन्धित पक्षसँग आग्रह गरे। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रविधिको सही प्रयोग हुनुपर्नेमा उनले जोड दिए।
