निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होछारका अवसरमा मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत व्यक्त गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै तोकिएको मितिमा हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरे। मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सुशासन र आर्थिक समृद्धि अपरिहार्य रहेको कुरामा उनले जोड दिए।

हिमाली क्षेत्रबाट विश्वभर फैलिएको शेर्पा समुदायले नेपालको सान र गौरव बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिले भने, “आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको शेर्पा समुदायले नेपाली प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको छ।”

नेपालका मौलिक चाडपर्वले आपसी सद्भाव, एकता र भ्रातृत्व बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले राष्ट्रिय एकताको भावनालाई थप बलियो बनाउनु सबैको साझा दायित्व भएको बताए। शेर्पा समुदायले यस वर्षको ग्याल्पो ल्होछार फागुन ६ गते बुधबार मनाउँदैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *