प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज सोमबारदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा र कोणसभा जस्ता कार्यक्रम गर्न पाइने व्यवस्था भएकाले आज फागुन ४ गतेदेखि दल र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका हुन्।
यो प्रचारप्रसारको अवधि फागुन १८ गते राति १२ बजेसम्म रहनेछ। त्यसपछि भने ‘मौन अवधि’ सुरु हुनेछ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ। उम्मेदवारहरूले सञ्चारमाध्यम तथा अनलाइनमा विज्ञापन मार्फत पनि मत माग्न सक्नेछन्।
प्रचारप्रसारका क्रममा हुने मञ्च तयारी लगायतका खर्चको विवरण उम्मेदवार आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने नियम छ। आयोगले आचारसंहिता अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको छ र यसको उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्नेदेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ।
विशेषगरी सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन निषेध गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता कार्यान्वयनमा आयोगले शून्य सहनशीलता अपनाउने बताएका छन्।
