आजपा घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
काठमाडौँ। मुलुकको वर्तमान राजनीतिक व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच अध्यक्ष साहले पार्टीको नीति र योजनाहरू सार्वजनिक गरेका हुन् ।
आजपाले आफ्नो घोषणापत्रमा शासकीय स्वरूप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि अहिलेका संरचना पर्याप्त नभएको भन्दै पार्टीले छुट्टै शक्तिशाली संरचना निर्माण गर्ने, ‘एक घर एक रोजगारी’ को ग्यारेन्टी गर्ने तथा स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क हुनुपर्ने विषयलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ।
अध्यक्ष साहले मधेश र पहाडको नाममा राजनीति गर्नेहरूले सत्तामा पुगेपछि आफ्नै स्वार्थ मात्र पूरा गरेको आरोप लगाए। उनले पछिल्लो समय नयाँ भनिएका शक्तिहरू पनि पुरानै सरकारमा सहभागी भएर सत्ताको स्वादमा भुलेको टिप्पणी गरे।
‘जनतालाई मूर्ख बनाएर नयाँ भनिएकाहरूसँग कुनै ठोस एजेण्डा छैन, हामी नयाँ मुद्दाका साथ जनताको जीवनस्तर वास्तविक रूपमै सुधार गर्ने योजना बोकेर आएका छौँ’, साहले भने।
अध्यक्ष साहले निर्वाचनमा उम्मेदवार मात्र नभई व्यवस्था र नीति पनि सही हुनुपर्नेमा जोड दिँदै मतदाताहरूलाई गम्भीर भएर आफ्नो मत प्रयोग गर्न अपिल गरे।
कागजी विकासभन्दा पनि व्यवहारिक परिवर्तनका लागि आफ्नो पार्टीलाई विकल्पका रूपमा हेर्न उनले आग्रह गरे।
