मतदानमा अशक्त र ज्येष्ठ नागरिकलाई विशेष सुविधा दिइने
काठमाडौँ। आगामी निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका र आफैँ मतसंकेत गर्न नसक्ने मतदाताका लागि निर्वाचन आयोगले विशेष व्यवस्था गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो तयारी गरेको हो।
निर्वाचनका बेला गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री र सुत्केरीले अब घण्टौँ लाइनमा बस्नु पर्ने छैन।
उनीहरूलाई प्राथमिकताका आधारमा सिधै मतदान गर्ने वातावरण मिलाउन आयोगले सबै मतदान केन्द्रलाई निर्देशन दिएको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक मतदाताले पनि यो सुविधा पाउने छन्।
यदी कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तताका कारण आफैँ मतसंकेत गर्न नसक्ने भएमा आफ्नो परिवारको सदस्यलाई साथमा लैजान पाउने छन्। त्यसका लागि मतदान अधिकृतसँग अनुमति लिनु पर्नेछ।
परिवारको सदस्य उपलब्ध नभएमा र मतदाताले सहयोग मागेमा स्वयं मतदान अधिकृतले नै मतसंकेत गर्न सघाउनु पर्ने नीति आयोगले बनाएको छ।
देशभर मतदान केन्द्र र स्थलको टुंगो लागिसकेको छ। आयोगले मतदानालाई सहज बनाउन र मतदान स्थलको व्यवस्थापनमा विशेष ध्यान दिएको बताएको छ।
